
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले नागरिकको जीवनस्तर सुधार गर्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।

आइतबार लम्कीचुहा नगरपालिका–स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गतको सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास गर्दै मन्त्री यादवले सरकारले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर अघि बढाइरहेको बताए।


“सरकार जनतासँग काँध मिलाउँदै अघि बढ्छ,” उनले भने, “देशका हरेक नागरिकको सुरक्षित खानेपानी र सरसफाइमा पहुँच सुनिश्चित गर्नु हाम्रो दीर्घकालीन नीतिगत प्रतिबद्धता हो।” मन्त्री यादवले आयोजनालाई सफल बनाउन सरकार, नगरपालिकासहित उपभोक्ता समितिबीच त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको धारणा राखे।
लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले आयोजना सम्पन्न भएपछि नगरवासीलाई खानेपानीको समस्या समाधानमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन्। साथै, सबै पक्षलाई आयोजनामा सहकार्य गर्न आग्रह गरिन्।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार आयोजना सम्पन्न भएपछि वडा नं. १, २, ३, ४ र ५ का कम्तीमा ७५ हजार ५०० नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। कुल लागतमा नेपाल सरकारले ७० प्रतिशत, उपभोक्ता समितिले २५ प्रतिशत र लम्कीचुहा नगरपालिकाले ५ प्रतिशत लगानी गर्नेछ।
आयोजना प्रमुख अरुणकुमार कर्णले असार २३ गते सुप्रिम जयमाता जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको जानकारी दिए। २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा मूल्य अभिवृद्धि करसहित सम्झौता भई, कार्य सम्पन्नको म्याद २०८५ साल असार २५ गतेसम्म तोकिएको छ।
































