
अत्तरियाः धनगढी उपमहानगरपालिका–४ बोराडाँडीकी रीता अवस्थी पछिल्ला चार वर्षदेखि ड्रागन फ्रुट खेतीमार्फत आत्मनिर्भर बन्न सफल भएकी छन्। उनले करिब एक विघा जमिनमा २५०० बढी बोट लगाएर व्यवसायिक खेती सुरु गरेकी हुन्।

‘भागेश्वर बहुउद्देश्यीय कृषि तथा अनुसन्धान केन्द्र’ नामक फर्म दर्ता गरी कृषिमा समर्पित रीता अहिले नियमित आम्दानी गर्न थालेकी छन्। पछिल्लो एक महिनामा मात्रै उनले ५५ हजार रुपैयाँ बराबरको ड्रागन फ्रुट बिक्री गरेकी छन् भने अघिल्लो वर्षको कार्तिकमा १ लाख रुपैयाँको बिक्री गरेकी थिइन्।
शुरुमा लगानी धेरै लाग्ने बताउँदै उनले हालसम्म करिब १५ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्। “पहिलो वर्ष पोल गाड्न, टायर किन्न, कामदार राख्न र मल हाल्न धेरै खर्च हुन्छ,” उनी भन्छिन्, “तर लगानीको प्रतिफल विस्तारै फर्किरहेको छ।”

अर्गानिक विधिबाट उत्पादन गरिरहेकी रीताले अहिले सिउँडी जातको ड्रागन फ्रुट खेती गर्दै आएकी छन्, जुन स्वादिष्ट र पोषणयुक्त मानिन्छ। उनले आफ्नै बगैंचामा एक जना कामदारलाई पनि रोजगारी दिएकी छन्। “खानासहित ११ हजार रुपैयाँ तलब दिने गरेकी छु, चार जनाको परिवार यही आम्दानीबाट चलेको छ,” उनले भनिन्।

बजारको माग पनि राम्रो रहेको उल्लेख गर्दै उनले हाल ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको बताइन्। “सबैलाई ड्रागन फ्रुट मनपर्छ, मीठो र स्वास्थ्यवर्द्धक छ,” उनी भन्छिन्।
ड्रागन फ्रुटसँगै उनी एक विघा तीन कठ्ठामा फूल, मुमको दाल र पर्वर खेती समेत गर्दै आएकी छन्। पर्वर मात्रै दुई महिनामा ३० हजार रुपैयाँ बराबर बिक्री गरेको उनी बताउँछिन्। साथै, उनले गड्यौला मल उत्पादन गरी प्याकेजिङसहित बजारमा पठाउने काम समेत गरिरहेकी छन्।
फूल खेतीलाई अझ व्यवस्थित गर्न नर्सरी निर्माण गरी फूल बिक्री केन्द्र स्थापना गर्ने योजनामा रहेकी रीताले हाल उक्त केन्द्र निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन्। उनको समर्पण र मेहनतले कृषिमा आत्मनिर्भर बन्न सकिने प्रेरणा दिएको छ।
































