सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा सात स्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कार

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले २१२ औँ भानुजयन्तीको अवसरमा विभिन्न विधाका सात स्रष्टालाई २०८१ सालको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरेको छ। आइतबार धनगढीमा आयोजित विशेष समारोहमा भाषा, साहित्य, लोकसंस्कृति, गायन, चलचित्र, नृत्य र ललितकलामा योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रतिष्ठानले भाषा विधामा बैतडीका वीरबहादुर चन्द, साहित्यमा दार्चुलाका सह–प्राध्यापक गणेशराज जोशी, लोकसंस्कृतिमा अछामका यज्ञराज उपाध्याय, लोकगायनमा बझाङकी डिक्रा बादी, चलचित्रमा कैलालीका संगत थारू, नृत्यमा डोटीका रामबहादुर रावल तथा ललितकलामा कञ्चनपुरका अमर सुनारलाई ‘प्रादेशिक प्रतिभा पुरस्कार’ प्रदान गरेको हो।


उनीहरूले जनही ५० हजार रुपैयाँ नगद, दोसल्ला र अभिनन्दनपत्र प्राप्त गरेका छन्।

समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि थिए। प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी र प्रदेश सभा सदस्य विक्रम धामीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।

अन्य स्रष्टालाई पनि सम्मान

प्रतिष्ठानले विभिन्न विधामा योगदान पुर्‍याएका अन्य नौ स्रष्टालाई ‘प्रादेशिक प्रतिभा सम्मान’ समेत प्रदान गरेको छ। जसअनुसार:

  • नाट्य: उमेश मायालु (डडेल्धुरा), प्रेम भण्डारी (कैलाली)

  • चलचित्र: अम्बिका प्रसाद आचार्य (कैलाली)

  • लोक दोहोरी: पदमबहादुर धामी (अछाम)

  • लोक गायन: उमाशंकर जोशी (बझाङ)

  • मातृभाषा चलचित्र: खडक मल्ल (डोटी)

  • चित्रकला: मनिष चौधरी (कैलाली)

  • नृत्य: हेमराज भट्ट (कैलाली)

  • गायन: प्रकाश बहादुर शाह

यी स्रष्टाहरूले जनही २० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्राप्त गरेका छन्।

सांस्कृतिक कृति लोकार्पण र काव्य चर्चा

कार्यक्रममा प्रतिष्ठानको अनुसन्धानमूलक ग्रन्थ ‘संस्कृति र इतिहास विशेष: सगुनु’ र इन्द्र चौधरीद्वारा लिखित ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ कृतिको लोकार्पण मन्त्री खड्का र उपकुलपति जोशीले संयुक्त रूपमा गरे। साथै आदिकवि भानुभक्तको जीवन र कृतित्वमाथि प्रा. गणेशराज जोशीले विशेष चर्चा प्रस्तुत गरे।

समारोहमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, संविधानसभा सदस्य आनन्दी पन्त, पूर्व सांसद यज्ञराज पाठक, कथाकार किरण आचार्य, महाकाव्यकार मनिराज जोशी, प्राज्ञ यज्ञराज उपाध्याय, सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य हरिकृष्ण कडायतलगायत विशिष्ट साहित्यिक स्रष्टाहरूको उपस्थिति थियो।

कार्यक्रममा कविता वाचन, सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रम सहित साहित्यिक तथा सांस्कृतिक उत्सवका विविध गतिविधिहरू सम्पन्न गरियो।

Advertize US