
अत्तरिया : कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशको नवौं पूर्ण खोप जिल्ला घोषित भएको छ। सोमबार धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा आयोजित औपचारिक कार्यक्रममार्फत कैलालीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला’ घोषणा गरिएको हो।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, मन्त्रालयका सचिव, जिल्ला समन्वय समिति प्रमुख गोगन बहादुर हमाल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य कार्यालय कैलाली र जिल्ला पूर्ण खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले खोप अभियानको सफलतामा स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको सक्रिय सहभागिता निर्णायक रहेको उल्लेख गरे।


उनीहरूले पूर्ण खोप सुनिश्चितताले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
कार्यक्रममार्फत जिल्लाभर नियमित खोप कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन भएको, स्वास्थ्य पूर्वाधार तथा जनचेतनामा सुधार आएको र खोप पहुँचमा व्यापकता ल्याइएको तथ्य प्रस्तुत गरियो।
यो घोषणा सँगै कैलाली जिल्ला बाल स्वास्थ्य सुरक्षाको दिशामा थप उदाहरणीय बनेको छ।





























