
पूर्व अमेरिकी राष्ट्रपति तथा सम्भावित राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत अत्याधुनिक र शक्तिशाली हतियार पठाउने घोषणा गरेका छन्। साथै, उनले रुसले ५० दिनभित्र शान्तिवार्तामा संलग्न नभए कडा व्यापारिक कर (ट्यारिफ) नीति लागू गर्ने चेतावनी दिएका छन्।

वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पले भने, “हामीले युक्रेनलाई चाहियो भने मद्दत गर्न सक्छौं भन्ने प्रमाणित गर्नुपर्छ।” रुटले पनि अमेरिकाको चाहनाअनुसार नाटोमार्फत हतियार सहयोगको तयारी भइरहेको बताएका छन्।
युरोपेली मुलुकहरूले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स प्रणाली सहयोग गरिसकेका छन्, जसले रुसका हवाई आक्रमणबाट सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। ट्रम्प र युरोपेली नेताहरूबीच मिसाइल, गोला–बारुद र अन्य हतियार आपूर्तिबारे समेत छलफल भएको छ।

“टप अफ द लाइन हतियारको खर्च अरबौँ डलर हुन सक्छ, तर यो युद्ध मैदानमा रहेका मानिसहरूलाई बचाउनका लागि हो,” ट्रम्पले भने।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि ट्रम्पसँगको सम्पर्क भएको पुष्टि गरेका छन्। उनले ट्विटरमार्फत नाटो प्रमुखसँगको भेटपछि ट्रम्पसँग पनि छलफल भएको उल्लेख गर्दै युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताका लागि धन्यवाद दिएका छन्। उनले रुसी आक्रमणबाट नागरिकको ज्यान जोगाउने विषयमा ट्रम्पसँगको वार्ता केन्द्रित भएको जनाए।
ट्रम्पले यदि रुस वार्ता र शान्तिमा उन्मुख नभएमा रुसी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै सेकेन्डरी ट्यारिफ लगाउने चेतावनी दिएका छन्। उनले भारतजस्ता राष्ट्रले रुसबाट तेल खरिद गरेमा ती देशका सामानमा १०० प्रतिशतसम्म आयात कर लगाउने सम्भावना औंल्याएका छन्।
ट्रम्पको विश्वास छ— यस्तो कडाइले मस्कोको निर्यात आम्दानीमा धक्का पुग्नेछ र हतियार खरिदका लागि आवश्यक रकमको अभाव हुनेछ।
































