
कञ्चनपुरः कृष्णपुर नगरपालिका–४ स्थित श्री पञ्चाधिन माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको समावेशी तथा बाल अपाङ्गता तथा लैङ्गिक मैत्री शौचालय औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कृष्णपुर नगरपालिकाको साझेदारीमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत उक्त शौचालय निर्माण गरिएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यक्रम संयोजक रामेश्वर जैरुले बालबालिकालाई सुरक्षित, समावेशी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित भुगोल सुहाउँदो ढाँचामा शौचालय निर्माण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कृष्णपुर नगरपालिकाको २ लाख र साझेदार संस्थाहरूको १२ लाख रुपैयाँ लगानीमा कुल १४ लाख ३ हजारको लागतमा शौचालय निर्माण सम्पन्न गरिएको हो।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कञ्चनपुरका जिल्ला संयोजक सुरज शर्माले स्वच्छ र स्वस्थ समाज निर्माणमा शौचालयको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्माण सम्पन्न संरचनाहरूको सही र सुरक्षित प्रयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले विद्यालय र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कृष्णपुर नगरपालिका तथा विभिन्न दातृ संस्थाहरूले निरन्तर साथ दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय गरिरहेकामा धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी वडा नं. ४ का अध्यक्ष कैलाश बहादुर बलायरले विद्यालयको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी शौचालय निर्माणमा सहयोग पुर्याउने साझेदार संस्थाहरूलाई नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्नुभयो।
कृष्णपुर नगरपालिकाले शिक्षा क्षेत्रको प्रवर्द्धन र विकासका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्य गरिरहेको जनाइएको छ।


































