
सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२ को तयारी तीव्र बनाउँदैछ। यही सन्दर्भमा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, धनगढीमा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलनलाई सफल बनाउन सम्पूर्ण सरकारी संयन्त्रलाई सक्रिय हुन निर्देशन दिएका छन्।

मुख्यमन्त्री शाहले अत्यावश्यक बाहेक अन्य कारणले विदा नलिन स्पष्ट निर्देशन दिँदै प्रमुख सचिव डा. कमलप्रसाद पोख्रेललाई सो सम्बन्धी परिपत्र जारी गर्न आग्रह गरेका छन्। उनले भने, “कोही पनि कर्मचारी अत्यावश्यकबाहेक विदामा नबस्नुहोस्। अहिले हामी सम्पूर्ण तयारीमा जुट्नुपर्छ।”
कार्यक्रम नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको हो। सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेशमा लगानी मैत्री वातावरण निर्माण गर्दै लगानीकर्ताको विश्वास जित्न सरकार प्रतिबद्ध रहेको बताए। “काम गर्ने क्रममा कानुनी जटिलता आउन सक्छन्,” उनले भने, “प्रदेश कानुन सचिव डा. वीरेन्द्रकुमार मिश्रले सम्बन्धित निकायसँग समन्वय गरी एक हप्ताभित्र यस्ता समस्या पहिचान गर्नुहोस्।”


मुख्यमन्त्रीले आवश्यक परे दुईवटा विधि — अध्यादेश वा संकल्प प्रस्तावमार्फत — कानुन संशोधन गर्न सकिने उल्लेख गर्दै प्रदेश सरकार गम्भीर तयारीमा रहेको बताए।
प्रदेश सरकारको विश्वास छ, आगामी लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोसेढुङ्गो सावित हुनेछ। सम्मेलनबाट पूर्वाधार निर्माण, पर्यटन प्रवर्धन, रोजगारी सिर्जना, कृषि तथा वन पैदावारमा मूल्य अभिवृद्धि, सीमा व्यापार विस्तार तथा अन्तरदेशीय साझेदारीका क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।
































