
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी बजारमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका मोहनसिंह बोहराको १५औं दिनको पुण्यतिथिमा होटल व्यवसायीहरूले शोक व्यक्त गरेका छन्।

होटल व्यवसायी महासंघ नेपाल र गोदावरी होटल व्यवसायी संघका प्रतिनिधिहरू बोहराको निधनप्रति दुःख व्यक्त गर्न उनका परिवारलाई भेट्न बुधबार निवासमा पुगेका थिए। शोक भेटमा महासंघकी केन्द्रीय उपाध्यक्ष धनादेवी चोखाल, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीसहित विभिन्न प्रतिनिधिहरू सहभागी थिए।

७१ वर्षीय बोहराको असार १८ गते निधन भएको थियो। शोक भेटका क्रममा उपाध्यक्ष चोखालले मोहनसिंह बोहरालाई गोदावरी क्षेत्रका होटल व्यवसायीहरूको मार्गदर्शक र असल अभिभावकको रूपमा स्मरण गर्दै उनको निधनले व्यवसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन्।

बोहराको योगदान र सम्झनामा आयोजित सो भेटघाटमा उपस्थित प्रतिनिधिहरूले उनका परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
































