
कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित ‘बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा-महोत्सव २०८२’ को उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको मन्दिरको समुचित प्रचारप्रसार र पूर्वाधार विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।


उहाँले मन्दिरसम्म पुग्न प्रयोग हुने शिवगंगा नदीमाथिको पुल निर्माणमा देखिएको ढिलासुस्तीबारे चासो व्यक्त गर्दै निर्माण कम्पनीलाई बोलाएर तत्काल काम अगाडि बढाउन अर्थ राज्यमन्त्री प्रकाश बमलाई निर्देशन दिनुभएको छ।

साथै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा बेहडाबाबा क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले करीब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी समेत मुख्यमन्त्री शाहले दिनुभयो।































