
कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ। अदालतले असार ३२ गतेसम्म २ हजार ९ सय ३० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा कुल ३ हजार १ सय ४६ मुद्दा टुंग्याउँदै उत्कृष्ट उपलब्धि हासिल गरेको हो।

अदालतका श्रेस्तेदार उप-सचिव चेतराज पन्तका अनुसार, चालू आर्थिक वर्षमा फर्छ्यौट भएका मुद्दाको प्रतिशत ७०.६८ रहेको छ। यस अवधिमा जिल्ला अदालतमा दर्ता भएका ४ हजार ४५१ मुद्दामध्ये हाल १ हजार ३०५ मुद्दा बाँकी रहेका छन्। तीमध्ये १८ महिनाभित्रका १ हजार २४४, १८ महिनादेखि २ वर्षसम्मका ४५ र दुई वर्षभन्दा पुराना १६ मुद्दा रहेका छन्।

सरकारवादी (फौजदारी) मुद्दाको संख्याबारे जानकारी दिँदै सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले उक्त अवधिमा ३१४ मुद्दा दर्ता भएको र जिम्मेवारीसहित सरेका मुद्दासहित कुल १ हजार ६८० मुद्दा रहेको बताए।

न्यायाधीशहरूद्वारा मुद्दा फर्छ्यौटका विवरण
फर्छ्यौटको संख्यामा जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामी अगाडि देखिएका छन्। उनले एकल ९ सय ४३ मुद्दा फर्छ्यौट गरेका छन्। त्यस्तै, न्यायाधीश प्रदीपकुमार उपाध्यायले ८ सय ५४, दण्डपाणि लामिछानेले ७ सय ३५ र दीपेन्द्रनाथ योगीले ५ सय ९३ मुद्दा टुंग्याएका छन्।
यसैगरी, आर्थिक वर्षको सुरुवातमै सरुवा भएका न्यायाधीश विष्णुप्रसाद अवस्थीले १२ र डल्लुराम चौधरीले ९ मुद्दा फर्छ्यौट गरेका छन्।




















