डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या

Image
CP Hospital Dhangadhi

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा एक व्यक्तिले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेका हुन् । घटना बिहीबार राति करिब साढे ११ बजे भएको प्रहरीले जनाएको छ ।

घटनापछि आरोपी करन फरार रहेका थिए । उनी भाग्दै गरेको अवस्थामा शुक्रबार बिहान गन्यापधुरा–३ स्थित गोयलखेतबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुराको हिरासतमा राखिएको छ ।

nawajiwan
Attariya Hospital

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर बिष्टको कमाण्डमा परिचालित प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

हत्या हुनुका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ । तर विस्तृत विवरण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।