
नेपाली जीवन बीमा क्षेत्रका अनुभवि व्यवसायी मदन भट्टले ‘नेपाल लाइफ इन्स्योरेन्स’ मार्फत ऐतिहासिक कीर्तिमान स्थापित गरेका छन्। उनले लगातार चौथोपटक “नेपाल टप” बन्ने सफलता हात पार्दै नेपाली बीमा क्षेत्रमा बिरलै देखिने उपलब्धि हासिल गरेका हुन्।

भट्ट यसअघि पाँच पटक “नेपाल टप” बन्न सफल भइसकेका छन्। पहिलोपटक उनले सन् २०१२ मा यो उपाधि जितेका थिए भने पछिल्ला चार वर्षदेखि लगातार उत्कृष्टताको शिखरमा उक्लिरहेकाले उनको सफलता झनै उल्लेखनीय बनेको छ।
दोहोरो कीर्तिमान: व्यक्तिगत र टिम दुवैमा सर्वोत्कृष्ट
यसपटक भट्टले व्यक्तिगत रूपमा पाँच करोड रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन्। साथसाथै, उनको नेतृत्वमा रहेको टिमले १० करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्दै ‘सर्वोत्कृष्ट टिम लिडर’को उपाधि पनि जितेको छ। एकै साथ व्यक्तिगत र टिमतर्फ दुबै विधामा उत्कृष्ट बन्ने दुर्लभ सफलता उनले हासिल गरेका हुन्।


दुई दशकको अनुभव र सेवा भाव
झण्डै २० वर्षदेखि जीवन बीमा क्षेत्रमा सक्रिय भट्टले एलआईसी नेपालबाट आफ्नो करियर सुरु गरेका थिए। सन् २००७ मा एलआईसीमै उत्कृष्ट बन्न सफल उनले सन् २०१२ पछि नेपाल लाइफ इन्स्योरेन्ससँग आवद्ध हुँदै २०२2, २०२३ र २०२४ मा पनि ‘नेपाल टप’ उपाधि जितेका हुन्।
धनगढीमै रहेर व्यवसायिक सफलता हासिल गरेका भट्टले क्रन्जी चिकेन नामक रेष्टुराँ चेन पनि सञ्चालन गर्दै आएका छन्। तर, उनको मुख्य चिनारी बीमा क्षेत्रमा रहेको सेवाभाव हो। उनले भने, “आर्थिक सफलता मात्र होइन, बीमामार्फत जोखिम हस्तान्तरण र जनताको सेवामा निरन्तर सक्रिय रहनु नै मेरो मुख्य उद्देश्य हो।”
सफलताको श्रेय आफ्ना बिमित, कम्पनी व्यवस्थापन र टिम सदस्यहरूलाई दिँदै उनले सबैप्रति आभार प्रकट गरेका छन्।































