
कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले भन्सार छली गरिएका लाखौं रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीको भजनी नगरपालिका–७ स्थित हिक्मतपुर घाटबाट इलाका प्रहरी कार्यालय पृथ्विपुरबाट खटिएको गस्ती टोलीले अबैध रूपमा भारतबाट ल्याइएका करिब ३८ हजार ३७० रुपैयाँ बराबरका बिडी, सुर्ती लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

त्यस्तै, कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरू — भीमदत्त नगरपालिका–४ बसपार्क, बेदकोट नगरपालिका–७ सुडा र पुनर्वास नगरपालिका–११ डोके बजारस्थित गुम्बा नजिकको सडक छेउ — बाट प्रहरीले करिब २१ लाख ७१ हजार ५१३ रुपैयाँ बराबरका भन्सार छली गरिएका सामानहरू बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा भेटिएका ती सामानहरूमा मुकुट, प्लास्टिक फूलको माला, सुटपिस, धोती, गम्छा, चस्माको सिसा, रोलरको मोटर, किराना सामान लगायतका सामग्री छन्।
प्रहरीले बरामद गरिएको सबै सामान आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।
































