
गौरीगंगा नगरपालिका–४, राजिपुरमा दिप ज्योती युवा क्लब र गौरीगंगा–११ स्पोर्ट्स क्लब मसुरियाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी, कैलालीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३७ जनाले रक्तदान गरेका हुन्।
कार्यक्रम दिप ज्योती युवा क्लबका अध्यक्ष मुक्ती खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गौरीगंगा नगरपालिकाका प्रमुख देबिदत्त कँडेल प्रमुख अतिथि रहेका थिए। साथै वडा सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यापारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कँडेलले रक्तदानजस्तो मानवसेवामूलक कार्यप्रति प्रशंसा व्यक्त गर्दै, “कोही पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गरिएको रक्तदान अभियानले समाजमा सहजता ल्याउने विश्वास लिएको छु,” भन्नुभयो।
अन्य वक्ताहरूले पनि “रक्तदान नै जीवनदान हो” भन्दै रक्त अभाव हटाउन नियमित रक्तदानको आवश्यकता औँल्याए। विशेषगरी युवाहरूको सक्रिय सहभागिता अभियानमा प्रेरणादायक रहेको बताइयो।
कार्यक्रममा गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन होमराज सापकोटाले गर्नुभएको थियो।
क्लबले यसअघि पनि स्वास्थ्य शिविर, खेलकुद र सामाजिक जागरणका कार्यक्रमहरू गर्दै आएको जनाएको छ।

































