
सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित विचफाँटा क्षेत्रमा निर्माण गरिरहेको सडक गुणस्तरहीन बनेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत १६ करोड २५ लाख रुपैयाँमा शंकर जोशी जेभीले ठेक्का पाएको सो सडक ०८१ असार मसान्तभित्र सक्नुपर्ने थियो। तर एक वर्ष ढिलो गर्दै बनाइएको सडक एक सातामै भत्किन थालेको स्थानीयको गुनासो छ।

स्थानीय रवि क्षेत्री र अनिल सुनारले निर्माणकै क्रममा सडक चिरा परिरहेको भन्दै गम्भीर अनियमितता भएको आरोप लगाए। वडाध्यक्ष नरबहादुर विक र मेयर तोयप्रसाद शर्माले पनि समन्वयबिनै बनाइएको सडक कमजोर रहेको पुष्टि गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले हालसम्म ७० प्रतिशत मात्रै काम सकिएको र भत्किएको ठाउँ पुनर्निर्माण गराउने जानकारी दिए।































