
आज २०८२ साउन ५ गते, सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि परेको आजको दिन ‘कामिका एकादशी’ व्रतसँगै श्रावण महिनाको पहिलो सोमबार पनि हो। यस दिन विशेषगरी शिवभक्तहरू बिहानैदेखि पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा दर्शन र पूजाका लागि पुग्ने गर्छन्।

हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवको प्रिय दिन मानिन्छ। शिव र पार्वतीको पूजा गरी व्रत बस्ने परम्परा यस दिन विशेष रूपमा मनाइन्छ। शिवको व्रत सूर्य उदयसँगै सुरु भएर सूर्यास्तपछि सम्पन्न गरिन्छ। आरतीपश्चात मात्रै भोजन गरिन्छ।

शिव व्रतले भक्तको मनोकामना पूर्ण हुने, ज्ञान प्राप्ति हुने र अविवाहित महिलाले योग्य पति पाउने विश्वास छ। पूजाअघि गणेशको आराधना अनिवार्य गरिन्छ। यसरी सोमबारको व्रत श्रद्धा, आस्था र इच्छापूर्तिको प्रतीक बनेको छ।


















