
बाजुराको बुढीगङ्गा नगरपालिका–५ स्थित बाम्का बजार, जेठ २३ गते ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीपछि ध्वस्त भएको थियो। स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र विभिन्न संस्थाको आर्थिक सहयोगमा बजार पुनर्निर्माण गरी पुरानै स्वरूपमा टहरा ठडाइएको छ। तर, पसल तथा होटल अझै सञ्चालनमा आउन सकेका छैनन्।

आगलागीबाट ३६ भन्दा बढी पसल तथा होटल जलेर नष्ट भएका थिए। अधिकांश व्यापारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय थालेका थिए, तर आगलागीपछि उनीहरू आर्थिक संकटमा छन्।

पीडित व्यापारी दीपक साउदका अनुसार टहरा त बनेका छन्, तर सामान राख्न र व्यापार सुरु गर्न मुस्किल परेको छ। आगलागीले लालपुर्जा, शैक्षिक प्रमाणपत्र, बैंक कागजातसमेत जलेर नष्ट भएका छन्। त्रिवेणी नगरपालिकाले १०, बुढीगङ्गाले पाँच, तथा अन्य पालिकाहरूले एक/दुई लाख र प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेका छन्।



















