
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्य सामुदायिक वन उपभोक्ता समूहले ३५ हेक्टर वन क्षेत्रमा अम्रिसो खेती गर्दै आएको छ।

डेढ दशकअघि सुरु गरिएको खेतीलाई पछिल्ला ६ वर्षदेखि व्यवस्थित रूपमा व्यवसायिक बनाइएको हो। गत असारसम्म झन्डै सात हजार झाडु बिक्री गरेर समूहले तीन लाखभन्दा बढी आम्दानी गरेको छ। अम्रिसो सङ्कलनदेखि झाडु बनाउने कार्यमा स्थानीय उपभोक्तालाई संलग्न गराइएको छ, जसबाट उनीहरूले पारिश्रमिक समेत पाउने गरेका छन्।

समूहका अध्यक्ष इश्वर बुढाका अनुसार झाडुको माग उच्च भए पनि जङ्गली हात्तीको आक्रमणले उत्पादनमा असर परेको छ। हात्तीले नोक्सानी नगरेमा वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुन सक्ने समूहको अनुमान छ।

उपलब्ध आम्दानी वन संरक्षण, फलफूल प्लट विकास, तालीम र अन्य कार्यक्रममा प्रयोग गरिँदै आएको छ। सामुदायिक सहकार्यमा आधारित यो वन संरक्षणको सफल मोडल बनेको छ।






























