
कैलालीको जोशीपुर गाउँपालिका–२ मा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा सोमबार तोडफोड भएको छ। लम्कीचुहा, जानकी र जोशीपुर गाउँपालिकाबाट आएका करिब १५–२० जना महिलाको समूहले संस्थाको साइनबोर्ड तोडफोड गर्नुका साथै कार्यालयमा तालाबन्दी गर्न प्रयास गरेको स्थानीयले बताएका छन्।

आन्दोलनकारी महिलाहरूले आफूहरू संघर्ष समितिको केन्द्रीय निर्देशनअनुसार आन्दोलनमा उत्रिएको जनाएका छन्। उनीहरूले “हाम्रो बचत फिर्ता गरिएको छैन, ऋण मिनाहा हाम्रो मुख्य माग हो,” भन्दै माग नपुरा भए निरन्तर संघर्ष गर्ने चेतावनी दिएका छन्।

प्रशासनको प्रत्यक्ष उपस्थिति नहुँदा कुनै ठूलो क्षति नभएको जनाइएको छ। यो घटना देशभर लघुवित्तविरुद्ध चर्किरहेको आन्दोलनकै एक कडीको रूपमा हेरिएको छ, जसमा ऋण मिनाहा र उच्च ब्याजदर खारेजको माग गरिँदै आएको छ।




















