
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघजस्तो देखिने वन्यजन्तु देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिक उखुबारीमा आज बिहान करिब ७ बजे ठूलो जंगली जनावर देखिएको वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए।

उनका अनुसार बाघ देखिएको आशंकामा स्थानीयहरू आतङ्कित छन्। जनावर अझै नियन्त्रणमा आइनसकेको र निकुञ्जबाट हात्ती र प्राविधिक टोली बोलाइएको वडाध्यक्षले बताए।

शुक्लाफाँटा निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले प्रारम्भिक रूपमा चितुवा भएको सम्भावना रहेको बताए। “हामीले प्राविधिकसहित दुईवटा हात्ती क्षेत्रतर्फ पठाएका छौँ,” उनले भने, “जनावर नियन्त्रणमा लिने प्रयास भइरहेको छ।”

निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ।































