
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा रहेका छाडा पशुचौपायाहरुलाई व्यवस्थापन गर्ने काम अन्तिम चरणमा रहेको छ । नगरपालिकाको वडा नम्बर ७ मा निर्माण गरिएको गौशालामा सबै वडामा रहेका छाडा पशुचौपाया केहि दिनमै राखिने नगरप्रमुख विरेन्द्र भट्टले बताएका छन् ।


उनले गौशाला निर्माण सम्पन्न भईसकेको बताउदै चौपायालाई पिउन पानि पोखरी निर्माण लगायतका कामहरु भईरहेकोले केहि दिनपछि नगरका सबै छाडा चौपायालाई राखिने बताएका छन् । करिब एक सय बिगाहा क्षेत्रफलमा फैलिएको उक्त गौशालाको भुभागमा आज नगरप्रमुख भट्टले वृक्षारोपण गरेका छन् । कृषि तथा मत्स्य विकास केन्द्र दिपायल डोटीले उपलब्ध गराएका बिभिन्न प्रजातिका करिब ५ हजार घाँसका बोट बिरुवाहरु रोपिदै छन् ।

वृक्षारोपण कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि, स्थानिय लगायतको सहभागिता रहेको थियो । नगरप्रमुख भट्टले कार्यक्रमको उद्देश्य वातावरण संरक्षणसँगै गौशालालाई हरित क्षेत्रका रूपमा विकास गर्नु रहेको बताए। उनका अनुसार सडकमा छाडा रूपमा घुमिरहेका गाईगोरुलाई व्यवस्थित राख्न निर्माण गरिएको गौशालाको उपयोग अझ प्रभावकारी बनाउन वृक्षारोपण गरिएको हो।


चुनावी प्रतिवद्धता अनुसार सडकमा छोडिएका पशु चौपायालाई सुरक्षित ठाउँमा राख्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए। साथै वर्षातको मौसमलाई लक्षित गर्दै पशुहरूका लागि पानीको व्यवस्था पनि गरिएको जनाइएको छ।
नगरपालिका स्रोतका अनुसार वृक्षरोपण कार्यक्रमले केवल वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्नेछ, तर पशुहरूको आवासस्थललाई समेत सौन्दर्यकरण गर्ने लक्ष्य लिइएको छ । कार्यक्रमले स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने विश्वास समेत गरिएको छ भने चौपायालाई पनि घाँसका लागि राम्रो व्यवस्था हुने भएको छ ।






























