
गौरीगंगा नगरपालिका–१० शान्तिटोलमा पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएका ८४ परिवार अहिले बासस्थान गुमाउने चिन्तामा परेका छन्। २०२९ सालदेखि भोगचलन गर्दै आएको जमिन खाली गर्न वन कार्यालयको निर्देशनपछि बस्ती तनावमा छ।

सरस्वती सामुदायिक वन नजिकको यो बस्ती २०७४ सालमा वनको नक्सामा समेटिएको थियो। मुक्त कमैया र हलिया परिवार रहेको शान्तिटोलमा डिभिजन वन कार्यालयको निर्देशनअनुसार सात दिनभित्र जमिन खाली गर्न सूचनासहित दबाब बढाइएको छ।
स्थानीय भोजबहादुर सार्कीका अनुसार “वर्षौंदेखि यही जमिनमा घर बनाएर बसेका छौं। अहिले आएर डोजर लगाउने धम्की आउन थालेको छ।” उनले उचित वैकल्पिक व्यवस्था नगरी ठाउँ नछोड्ने अडान दोहोर्याए।

बस्तीमा नेपाली, सार्की र थारु समुदायको बाक्लो बसोबास छ। चार बिघा क्षेत्रफलमा फैलिएको यो बस्तीमा राज्यको वैकल्पिक योजना नहुँदा थप समस्या देखिएको छ।

कमलरी कमैया जागरण मञ्चकी जिल्ला अध्यक्ष मिना कठरियाले “राजनीतिक दबाबमा घरमा डोजर लगाएर उठीबास बनाउने प्रयास भइरहेको” भन्दै आपत्ति जनाइन्।
सरस्वती सामुदायिक वन अध्यक्ष पदमबहादुर ऐरले वनक्षेत्रभित्रको जमिनमा खेती कार्य बढेकाले हटाउनुपर्ने अवस्था आएको बताए। “स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने प्रयास भइरहेको छ,” उनले भने।
गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमका अनुसार जमिन व्यवस्थापनबारे छलफल भइरहेको छ तर स्थानीयले व्यवस्थापन नभएसम्म बस्ती नछोड्ने स्पष्ट अडान लिएका छन्।



















