
धनगढी उपमहानगरपालिका–५ मा रहेको शैलेश्वरी बोर्डिङ स्कुलको व्यवस्थापन टिमले फारवेस्ट सेकेन्डरी स्कुल खरिद गरेको छ। अबदेखि फारवेस्ट स्कुल शैलेश्वरी बोर्डिङ स्कुलको व्यवस्थापन टिम अन्तर्गत सञ्चालनमा आउने भएको छ।

शैलेश्वरी बोर्डिङ स्कुलका प्रिन्सिपल जगन्नाथ जोरा र व्यवस्थापक नृप बहादुर वड दुवैले फारवेस्ट स्कुलको व्यवस्थापनको जिम्मेवारी लिएका हुन्। प्रिन्सिपल जोराका अनुसार, अब नयाँ व्यवस्थापनसँगै फारवेस्ट स्कुलमा आधुनिक शिक्षण प्रणाली, विद्यार्थी–अभिमुखी कार्यक्रम, अनुभवी शिक्षक, तथा समुन्नत शैक्षिक वातावरण स्थापना गर्ने तयारी गरिएको छ।

वि.सं. २०६० मा स्थापना भएको शैलेश्वरी बोर्डिङ स्कुलमा हाल १,१०० विद्यार्थी अध्ययनरत छन्। यो विद्यालयले धनगढी क्षेत्रमा गुणस्तरीय शिक्षाको उदाहरणीय संस्थाको रूपमा परिचय बनाउँदै आएको छ। नृप बहादुर वड शैलेश्वरी बोर्डिङ स्कुलका संस्थापक हुन् भने जोरा सन् २०७२ सालदेखि विद्यालयमा लगानीकर्ता तथा नेतृत्वकर्ता रूपमा आवद्ध छन्।

फारवेस्ट सेकेन्डरी स्कुलको स्थापना वि.सं. २०४८ मा भएको हो। यो विद्यालय धनगढी उपमहानगरपालिका–५ मा अवस्थित पुरानो संस्थागत विद्यालयहरूमध्ये एक हो। हाल फारवेस्ट स्कुलमा ३५० विद्यार्थी अध्ययनरत छन्।
प्रिन्सिपल जोराका अनुसार, दुबै विद्यालयको व्यवस्थापक टिम एउटै भए पनि शैक्षिक गतिविधिहरू आ–आफ्नो स्थानबाट सञ्चालन गरिनेछ। नयाँ व्यवस्थापनसँगै फारवेस्ट स्कुललाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको बताइएको छ।




















