
बैतडी: भारतको उत्तराखण्ड प्रदेशमा हुने पञ्चायत निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत जोड्ने बैतडीका सीमा नाका शुक्रबार साँझ ७ बजेदेखि साउन १२ गतेसम्मका लागि बन्द गरिने भएको छ।

बन्द हुने नाकामा झुलाघाटसहित तल्लो सोराड क्षेत्रमा सञ्चालनमा रहेका ९ वटा घाटहरू पर्ने छन्। सीमा नाका बन्दबारे सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।

भारतको आग्रहमा र पिथौरागढमा सम्पन्न सीमा सुरक्षा समन्वय बैठकमा भएको सहमतिअनुसार नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले सूचनामार्फत जानकारी दिएको हो।

बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सिमाना जोडिएका स्थानीय तहहरू हुन्। झुलाघाटमा झोलुंगे पुलमार्फत र अन्य स्थानमा महाकाली नदीमा डुंगा प्रयोग गरी आवतजावत हुँदै आएको छ।



















