
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले साउन ११ गते (श्रावण शुक्ल तृतीया) राना थारू समुदायको तीज पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

साउन ३ गते बसेको नगर कार्यपालिकाको बैठकले राना थारू समुदायका महिलाहरूले सांस्कृतिक रूपमा विशेष महत्वका साथ मनाउने तीज पर्वको सम्मानमा बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख अनुसार, साउन ११ गते नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै सरकारी निकायहरू (अत्यावश्यक सेवा बाहेक) तथा शिक्षण संस्थाहरू बन्द रहने छन्।

तीज पर्व राना थारू समुदायमा परम्परागत रूपमा नाचगान, पूजाआजा र सांस्कृतिक कार्यक्रममार्फत मनाइने पर्व हो। स्थानीय संस्कृति र परम्पराप्रति सम्मान जनाउँदै बिदा दिइएको गोदावरी नगरपालिकाले जनाएको छ।




























