
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा सञ्चालनमा रहेको त्रैमासिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार यथावत् रूपमा सञ्चालन हुने भएको छ।

गोदावरी नगरपालिकाले श्रावण ११ गते आइतबारका दिन श्रावण शुक्ल तृतीयाका अवसरमा राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्वको उपलक्ष्यमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
तर नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूले यसअघि नै शैक्षिक सत्र २०८२ को प्रथम त्रैमासिक परीक्षा कार्यक्रम तय गरिसकेको हुँदा परीक्षा प्रभावित नहुने गरी पूर्वनिर्धारित तालिकाअनुसार नै निरन्तर सञ्चालन हुने परीक्षा समितिले जनाएको छ।


शैक्षिक धारअनुसार प्राविधिक धारतर्फको परीक्षा श्रावण २ गतेबाट र साधारण धारतर्फको परीक्षा श्रावण ६ गतेबाट सुरु भइसकेको छ। त्यसैले तीज पर्वको दिन परेको सार्वजनिक बिदा हुँदाहुँदै पनि परीक्षा तालिका यथावत् लागू रहने र सोहीअनुसार सञ्चालन गरिने जानकारी नगरस्तरिय परीक्षा समिति अध्यक्ष दिर्घराज भट्टले बताएका छन ।
परीक्षा समितिले सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभावक र सरोकारवालालाई परीक्षा सञ्चालनमा सहयोग गर्न र पूर्वनिर्धारित समयमै उपस्थिति जनाउन अनुरोध गरेको छ।






























