दार्चुलाबाट २३ सय क्विन्टलभन्दा बढी हिमाली जडीबुटी निकासी, करोडौँ राजस्व संकलन

Image
Nisarga Hospital

दार्चुला: जडीबुटी उत्पादनका लागि चर्चित दार्चुलाबाट पछिल्लो आर्थिक वर्षमा २ हजार ३१६ क्विन्टलभन्दा बढी हिमाली जडीबुटी देशका विभिन्न जिल्ला र बाहिरी मुलुकमा निकासी गरिएको छ। निकासीबाट राज्यले झन्डै १ करोड ८९ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ।

CP Hospital Dhangadhi

दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत निकासी भएका जडीबुटीमध्ये यार्चागुम्बा, वनलसुन, टिमुर, तेजपात, दालचिनी, अमला, रिट्ठा, अल्लो, रातो च्याउ, कचुरलगायत महत्वपूर्ण छन्।

डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश पार्कीका अनुसार, २०८१/८२ मा मात्र दार्चुलाबाट १ क्विन्टल ८८.३३७ ग्राम यार्चागुम्बा, ३ क्विन्टल ३०० ग्राम वनलसुन, ९८ किलो टिमुर, १२ क्विन्टल अमला, १,५४० क्विन्टल तेजपात, ५८० क्विन्टल रिट्ठा, ४५ क्विन्टल अल्लो लगायतको जडीबुटी निकासी भएको हो।

nawajiwan
Attariya Hospital

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झाले संरक्षण क्षेत्रमा ७० प्रकारका जडीबुटीको पहिचान गरिए पनि हालसम्म ३५ प्रजातिमात्रै व्यापारिक रूपमा निकासी हुने गरेको बताए।

तर, जडीबुटी व्यापारबाट ठूलो मात्रामा आर्थिक लाभ उठाइँदै आए पनि यसको दीर्घकालीन संरक्षणतर्फ सरोकारवाला निकायहरूको ध्यान नपुगेको जडीबुटी व्यापारी तथा दार्चुला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मङ्गलसिंह ठगुन्नाको गुनासो छ।

उनका अनुसार प्रत्येक वर्ष अनियन्त्रित संकलन र वन क्षेत्र खुला गरिने प्रक्रियाका कारण हिमाली जडीबुटी लोप हुने जोखिममा परेका छन्। संरक्षणका लागि दीर्घकालीन रणनीति अवलम्बन गरिनुपर्ने माग उनीलगायत स्थानीय सरोकारवालाले गर्दै आएका छन्।

Advertize US