
कञ्चनपुरः राना थारू समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्वको अवसरमा कृष्णपुर नगरपालिकाले श्रावण ११ गते (आईतबार) का दिन स्थानीय विदा दिने निर्णय गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासीहरूमा शुभकामना व्यक्त गर्दै विदाको जानकारी दिएको हो।

नगर कार्यपालिकाको कार्यालयद्वारा प्रकाशित सूचनामा बहु-धार्मिक, बहु-सांस्कृतिक तथा बहु-भाषिक पहिचान बोकेको मुलुकमा चाडपर्वहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता सुदृढ बनाउने उल्लेख गरिएको छ। नगरपालिकाले सबै जात, वर्ग, धर्म, क्षेत्र र समुदायको चाडपर्वलाई समान सम्मान र प्राथमिकताका साथ मनाउने नीतिअनुसार तीज पर्वको अवसरमा विदा घोषणा गरिएको जनाइएको छ।

तीज पर्व शान्तिपूर्ण, सभ्य, भव्य र मितव्ययी ढंगले मनाउन नगरवासीहरूलाई आग्रह गरिएको सूचनामा उल्लेख छ। यस निर्णयअनुसार नगरपालिकाका सम्पूर्ण कार्यालय, शैक्षिक संस्था र अन्य मातहतका निकायहरू श्रावण ११ गते एक दिनका लागि बन्द रहनेछन्।

नगर प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट र नगर उपप्रमुख द्रौपती रानाले हस्ताक्षर गरेको सूचनामा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरिएको छ।



















