
टीकापुर: टीकापुर पार्कमा सर्वसाधारणको फोटो खिचेर जीविकोपार्जन गर्दै आएका स्थानीय फोटोग्राफरहरु क्यामेरा दस्तुर दोब्बर पारिएको निर्णयविरुद्ध आन्दोलित भएका छन्।

टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि लागू हुने गरी पार्क प्रवेश गर्दा तिर्नुपर्ने क्यामेरा दस्तुर मासिक ३ हजार रुपैयाँबाट बढाएर ६ हजार रुपैयाँ बनाएको छ। अब वार्षिक रूपमा प्रति फोटोग्राफर ७२ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ।
आन्दोलन समितिका संयोजक किरण आउजीका अनुसार, पार्कमा दुई वर्षअघि ७–८ जनाबाट सुरु भएको फोटोग्राफी व्यवसायमा हाल ४० जना युवा संलग्न छन्। “हामी ४० जनाले यो काम गरेर परिवार पाल्दै आएका छौं,” आउजीले भने, “नगरपालिकाले हाम्रो स्वरोजगार देख्न सकेन। उल्टै कर बढाएर हामीलाई विस्थापित गर्ने खेल खेलिरहेको छ।”

उनले मासिक अग्रिम दस्तुर तिरेपछि मात्रै पार्कमा क्यामेरा लिएर प्रवेश पाउने नियम रहेको भन्दै क्यामेरा बिग्रिएर काम नहुँदा पनि रकम फिर्ता नहुने समस्याबारे गुनासो गरे।
“दैनिक २० रुपैयाँमा फोटो खिचेर गुजारा चलाउने हाम्रो व्यवसायमा आम्दानी घट्दो छ,” आउजीले थपे, “यस्तो अवस्थामा शुल्क दोब्बर पार्नु सरासर अन्याय हो।”

नगरपालिकाको निर्णयविरुद्ध उनीहरुले प्रदर्शन गर्दै व्यवस्था फिर्ता गर्न माग गरेका छन्। उनीहरुका अनुसार शुल्क बढाउनु स्वरोजगारमा लागेका युवालाई विस्थापित गर्ने षड्यन्त्र सरह हो।
यसबीच, टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले दस्तुर वृद्धिको निर्णय पार्क व्यवस्थापकको प्रतिवेदनका आधारमा गरिएको स्पष्ट पारे।
“व्यवस्थापकले अझ धेरै शुल्क बढाउन सिफारिस गरेका थिए। हामीले छलफलमार्फत मिलाएर मात्रै वृद्धि गरेका हौं,” मेयर डगौराले भने, “नगरसभाले पारित गरेको निर्णय मान्न सबै बाध्य छन्।”
उनले फोटोग्राफरहरुले मिडियामार्फत अफवाह फैलाएको आरोप पनि लगाए।

















