
रानाथारु समुदायको मौलिक पर्व तीजको अवसरमा कञ्चनपुरका चार वटा पालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाले आ–आफ्नो निर्णयमार्फत रानाथारु समुदायको धार्मिक तथा सांस्कृतिक पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदा घोषणा गरेका हुन्।
बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीले हरेक जात–जाति र समुदायका पर्वप्रति नगरपालिका समर्पित रहेको बताउँदै भने, “बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो समाजमा यस्ता पर्वहरूले सामाजिक एकता र भातृत्वलाई थप सुदृढ गर्छन्।” साथै उनले तीजलाई तडकभडकबाट टाढा रही आर्थिक मितव्ययिताका साथ मनाउन आग्रह गरे।

लालझाडी गाउँपालिकाले तीज र गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार, “रानाथारु महिलाको तीज र थारु समुदायको गुरही पर्वको सम्मानमा सार्वजनिक बिदा दिइएको हो।”

यसैगरी, बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ।
सावनको डोला: रानाथारु तीजको सांस्कृतिक पहिचान
रानाथारु समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने परम्परा छ। हिन्दू धर्मावलम्बीहरूले भाद्र शुक्ल तृतीयामा श्रीमान्को दीर्घायुका लागि तीज व्रत बस्ने चलन भए पनि, रानाथारु महिलाहरू भने दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछन्।
रानाथारु अगुवा प्रेमवती रानाका अनुसार, तीज आउनुभन्दा १५ दिनअघि नै महिलाहरू माइतीघरमा निम्ता लिएर जान्छन्। “माइतीघरमा व्रत बसेर, परम्परागत भेषभूषामा सजिएर, पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने हाम्रो संस्कृतिको विशेषता हो,” उनले भनिन्।
स्थानीय चेतराम रानाले तीजलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा लिने गरिएको बताए। तीज सुरु हुनु केही दिनअघि नै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलनलाई ‘सावनको डोला’ भन्ने गरिन्छ, जुन मनोरञ्जनसँगै सांस्कृतिक चेतना फैलाउने माध्यम बनेको छ।

















