
डडेलधुराः पछिल्लो एक वर्षमा डडेलधुरामा ७७ वटा सवारी दुर्घटना भएका छन्, जसमा १४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतकमध्ये ६ महिला, ६ पुरुष र २ बालबालिका रहेका छन्।

ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानि) हर्कबहादुर साउदले तीव्र गति, ट्राफिक नियम उल्लङ्घन र चालकको लापरबाहीलाई मुख्य कारण बताएका छन्। उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४३ सवारी साधनलाई कारबाही गरिएको छ। कारबाहीबाट १५ लाख ४३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।

कारबाहीमा सबैभन्दा धेरै जिप तथा कार परेका छन्, जसबाट करिब ७ लाख २१ हजार रुपैयाँ उठाइएको छ। यस्तै, ट्रक, मोटरसाइकल, ट्र्याक्टर, बस र अन्य सवारी साधनबाट पनि उल्लेख्य राजस्व संकलन गरिएको छ।

सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले विद्यालय, सार्वजनिक स्थल र यातायात व्यवसायीहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रमहरू चलाइरहेको भए पनि दुर्घटनाको संख्या घट्न सकेको छैन। ग्रामीण क्षेत्रका साँघुरा र जीर्ण सडकहरूले जोखिम झन् बढाएको प्रहरीले जनाएको छ।

















