
डडेल्धुराः सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो ड्र्यागन फल (सिउँडीफल) को बगैँचा डडेल्धुराको चुरे पर्वतमा स्थापना गरिएको छ। आलिताल गाउँपालिका–४, चुडापानीको बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको हो।

स्थानीय कृषक कर्णबहादुर बोहोराले यसअघि जालटुडामा दुई सय बिरुवाबाट खेती सुरु गरेका थिए। डेढ वर्षमै फल दिन थालेपछि यस वर्ष थप पाँच सय बिरुवा रोपिएको हो। कृषि ज्ञान केन्द्र डडेल्धुराले बोहोरालाई बिरुवा, थाँक्रा, मल र अन्य सामग्रीसहित करिब ३ लाख ६२ हजार रुपैयाँको सहयोग गरेको जनाएको छ।

बगैँचा स्थापना गर्न करिब १० लाख रुपैयाँ लागत लागेको छ। केन्द्रका प्रमुख नरेन्द्र पनेरूका अनुसार यो बगैँचा पहाडी जिल्लामै नमुना र व्यावसायिक मोडेल बन्ने अपेक्षा गरिएको छ।

ड्र्यागन फलको माग उच्च रहेको र आगामी दिनमा अन्य जिल्लामा निर्यात गर्ने योजना रहेको उनले बताए। बोहोराका अनुसार उनका बिरुवाबाट गत वर्ष २० क्विन्टल फल उत्पादन भएको थियो। एक बोटबाट वर्षमा २० किलोसम्म फल पाइने र प्रति दाना पाँच सय ग्रामसम्म तौल हुने बताएका छन्।
































