
बरिष्ठ पत्रकार दीर्घ खत्रीको अन्त्येष्टि शनिबार गोदावरीको अर्याघाटमा हिन्दू परम्पराअनुसार सम्पन्न गरिएको छ। अढाई दशकदेखि पत्रकारितामा सक्रिय खत्री रेडियो नेपाल, दिपायल प्रसारण केन्द्रमा कार्यरत थिए।


प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्यसमेत रहेका खत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चौतारीको झन्डा ओढाइएको थियो। अन्तिम श्रद्धाञ्जली सभामा चौतारीका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, महासचिव भानुभक्त आचार्य, प्रदेश उपाध्यक्ष मीन ठकुरी, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, प्रेस युनियनका पूर्व अध्यक्ष बद्री सिग्देल लगायतको उपस्थिति थियो।
महासचिव आचार्यले खत्रीको निधनले प्रेस चौतारी र सुदूरपश्चिमको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्। दीर्घ खत्रीको समर्पण, योगदान र निष्ठापूर्ण पत्रकारिता सधैँ सम्झन योग्य रहेको सहभागीहरूले स्मरण गरेका थिए।































