
धनगढी: “डुङ्गा चढ्न वेलाताल जाऔँ, पर्यटन प्रवर्धन गरौँ” भन्ने नारासहित धनगढी उपमहानगरपालिका–११ स्थित वेलादेवी धामको वेलातालमा डुङ्गा सञ्चालन सुरु गरिएको छ।

शनिबार आयोजित औपचारिक कार्यक्रममा उपमेयर कन्दकला रानाले डुङ्गा सञ्चालनको उद्घाटन गर्दै धार्मिक र पर्यटकीय क्षेत्रहरूको संरक्षण तथा प्रवर्धनमा पालिका गम्भीर रहेको बताइन्। “धनगढी नगरभित्र रहेका ८४ वटा ताल–तलैयाको पहिचान र नक्साङ्कन गरिसकेका छौँ,” उनले भनिन्, “वेलातालमा डुङ्गा सञ्चालन धार्मिक, आध्यात्मिक र पर्यटन प्रवर्धनको दृष्टिले महत्वपूर्ण छ।”
वडाध्यक्ष रुपबहादुर कुँवरले स्थानीय सरकार, समुदाय र पर्यटनसँग सम्बन्धित निकायको सहकार्यमा डुङ्गा सञ्चालन सम्भव भएको जानकारी दिए। वेलादेवी मन्दिर तथा धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीका अनुसार चार सिट क्षमताको डुङ्गा एक लाख ५० हजार रुपैयाँको लागतमा खरिद गरिएको हो।


करीब साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको वेलादेवी धाम परिसरमा भक्तजन तथा पर्यटकका लागि मन्दिर, विवाह मण्डप, होमकुण्ड, स्वच्छ पानी, शौचालय, वनभोज स्थल, चिल्ड्रेन्स पार्क र गोल घर जस्ता संरचना निर्माण गरिएको छ।
धनगढीको मुख्य बजारदेखि करिब साढे चार किलोमिटर टाढा रहेको वेलादेवीपूर धामलाई अझ व्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारिएको निवर्तमान अध्यक्ष अर्जुनबहादुर खड्काले बताए। डुङ्गा सयरका माध्यमबाट धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।































