
थाइल्यान्ड र कम्बोडिया सीमामा केही दिनदेखि जारी सैन्य झडप अन्ततः युद्धविराममा टुंगिएको छ। आइतबार दुवै देशका नेताहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै युद्धविरामको औपचारिक घोषणा गरेका हुन्।

युद्धविराममा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहल निर्णायक बनेको जनाइएको छ। ट्रम्पले आइतबार एक वक्तव्य जारी गर्दै आफूले दुबै देशका नेताहरूसँग वार्ता गरी युद्धविराममा सहमत गराएको दाबी गरेका छन्।
उनले यसअघि नै सीमामा झडप जारी रहे व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। साथै, उनले १ अगस्टदेखि थाइल्यान्ड र कम्बोडियाबाट आयात हुने अमेरिकी सामानमा ३६ प्रतिशत कर लगाउने निर्णय पनि सार्वजनिक गरेका थिए।


कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले आइतबार बिहानै विज्ञप्ति जारी गर्दै युद्धविरामका लागि आफ्नो देश तयार रहेको जनाए। उनले यो सहमतिमा अमेरिकी पहलसँगै आसियानको अध्यक्ष मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको पनि भूमिका उल्लेख गरे।
दुई मुलुकबीचको तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गइरहेका बेला आएको यो सहमति क्षेत्रीय शान्तिका लागि सकारात्मक संकेतको रूपमा हेरिएको छ।

















