
अत्तरिया: सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट धनगढी सार्ने तयारी अघि बढेपछि गोदावरी क्षेत्रमा असन्तोष चुलिएको छ। अघिल्लो प्रदेश सभाको दुई तिहाइ बहुमतले गोदावरी–२ र ४ को तेघरी क्षेत्रलाई राजधानी घोषणा गरे पनि वन क्षेत्रसँग जोडिएको कारण कार्यान्वयन रोकिएको थियो।

यसबीच, प्रदेश सरकारले बजेट विनियोजनसमेत नगरेपछि संरचनागत विकास ठप्प भएको छ। अहिले भने मुख्यमन्त्रीको वरिपरि संरचना विस्तार गरी राजधानी सार्ने रणनीतिमा सरकार लागेको स्रोत बताउँछ। यसै उद्देश्यले बर्खे अधिवेशनमा राजधानी सार्ने विधेयकसमेत ल्याउने तयारीमा रहेको बताइएको छ।
युवा नेता लोकेन्द्र धामीले सामाजिक सञ्जालमार्फत गोदावरीको राजधानी स्थानान्तरणको प्रयासप्रति आपत्ति जनाउँदै संघर्षको चेतावनी दिएका छन्। उनले लेखेका छन्, “गोदावरीवासी राजधानी संरक्षणका लागि तयार छन्, यस्तो निर्णय सह्य हुने छैन।”


त्यस्तै, नेकपा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंहले राजधानी सार्ने निर्णयको कडा विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, “दुई तिहाइ बहुमतले गोदावरीलाई राजधानी घोषणा गरेको हो, त्यसको कार्यान्वयन तत्काल होस्, होइन भने आन्दोलन हुने छ।”
यसैबीच, ‘जय गोदावरी’ नामक नागरिक अभियानले पनि राजधानी सरुवाको विषयमा विभिन्न सरोकारवाला पक्षसँग संवाद र दबाबमूलक कार्यक्रमको तयारी थालेको छ।



















