
दोधारा चाँदनी–३ पटेरा खल्लाका बासिन्दा हरेक बर्खामा जोगबुडा नदीको बाढीले त्रसित छन्। नदी किनारमै बसोबास गर्ने चक्रबहादुर शाहीलाई बर्खा सुरु भएसँगै गत वर्षको बाढी सम्झना आउँछ।

त्यसबेला बाढीले ४० बढी परिवार विस्थापित बनाएको थियो। धान, गहुँ, पशु, घर सबै बगायो। कयौंले विद्यालयमा आश्रय लिए। पहाडबाट विस्थापित भई तराई झरेका शाही भन्छन्, “पहाडमा पहिरो, यहाँ बाढी, गरिबका लागि दु:खै दु:ख।”

स्थानीय आइती दमाई र इन्द्रबहादुर दमाईका अनुसार अस्थायी तटबन्ध बने पनि त्यो भरपर्दो छैन। बाढीको जोखिम टार्न पक्की तटबन्ध आवश्यक रहेको उनीहरू बताउँछन्।

पटेरा खल्ला सुकुम्बासीले बसोबास थालेको क्षेत्र हो, तर बर्खायाममा डुबानको खतरा झनै बढेको छ। स्थानीयको माग छ— अब ढुक्कसँग बस्न पक्की तटबन्ध चाहिन्छ।

















