
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट धनगढी सार्ने तयारीविरुद्ध दबाब सिर्जना गर्न अत्तरियामा सोमबार बृहत नागरिक भेला हुने भएको छ। जय गोदावरी स्वतन्त्र अभियानले आइतवार अत्तरियामा पत्रकार सम्मेलन गर्दै राजधानी कार्यान्वयनका विषयमा आम सर्वसाधारणको सरोकार बढेको जनाउँदै सोमबारको भेलाबाट थप संघर्षका कार्यक्रम तय गरिने जानकारी दिएको हो।

अभियानका संयोजक धनबहादुर बोगटीले दुई तिहाइ बहुमतले तोकिएको राजधानी अब उल्ट्याउने प्रयास अस्वीकार्य रहेको बताए। “धनगढी भीडभाडयुक्त क्षेत्र हो, कार्यालयहरू नै ठाउँ अभावमा छन्। सीमावर्ती क्षेत्रमा राजधानी सार्नु अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपयुक्त छैन,” उनले भने।

राजधानी सार्न नदिन सबै दलका केन्द्रीय नेतादेखि स्थानीय जनप्रतिनिधिसम्म सम्पर्कमा रहेको अभियानको दाबी छ। भेलाबाट दबाबमूलक कार्यक्रम घोषणा हुने जनाइएको छ।


















