सरकारी स्वामित्वमा आउँदै बयालपाटा अस्पताल : भदौ १ देखि ५० शय्यामा सेवा सुरु

Image
Nisarga Hospital

अछाम: सुदूरपश्चिम प्रदेशको एक महत्वपूर्ण स्वास्थ्य संरचना बन्दै आएको अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि प्रदेश सरकारको पूर्ण स्वामित्वमा ५० शय्याको अस्पतालका रूपमा पुनः सञ्चालनमा आउने भएको छ। सामाजिक विकास मन्त्री मेघराज खड्काको निरन्तर पहलपछि अस्पताल संचालनको तयारी अन्तिम चरणमा पुगेको हो।

CP Hospital Dhangadhi

बयालपाटा अस्पताल सन् २००८ देखि ‘न्याय हेल्थ’ नामक गैरनाफामूलक संस्थासँगको साझेदारीमा सञ्चालन हुँदै आएको थियो। यसले अछाम, बाजुरा, बझाङ, डोटी तथा कर्णाली प्रदेशका दुर्गम क्षेत्रका हजारौं जनतालाई गुणस्तरीय र निःशुल्क सेवा प्रदान गर्दै आएको थियो। तर, पछिल्ला वर्षहरूमा देखिएको आर्थिक अप्ठ्यारो र अनिश्चित भविष्यले अस्पतालको निरन्तरता संकटमा परेको थियो।

यस सन्दर्भमा प्रदेश सरकारले सार्थक हस्तक्षेप गर्दै बयालपाटा अस्पताललाई आफ्नो मातहतमा ल्याउने निर्णय गरेको हो। अस्पताल सञ्चालनपछि हाल कार्यरत ७० प्रतिशत स्वास्थ्यकर्मीलाई पुनः नियुक्त गरिने छ भने बाँकी ३० प्रतिशत कर्मचारी खुला प्रतिस्पर्धाबाट भर्ना गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

nawajiwan
Attariya Hospital

मन्त्री खड्काको चुनावी घोषणा पत्रमा बयालपाटाको दीर्घकालीन र स्थायी व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिइएको थियो। अब उक्त प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको विशेष पहलमा भएको निर्णयले प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको पुष्टि भएको छ।

नेपालको संविधानको धारा ३५ ले ‘स्वास्थ्यसम्बन्धी हक’लाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप बयालपाटाको यो व्यवस्थापनलाई सुदूरपश्चिम प्रदेश सरकारले लिएको ऐतिहासिक निर्णयको रूपमा हेरिएको छ।

यस निर्णयले विशेषतः दुर्गम क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत तथा पिछडिएका वर्गका जनताका लागि निःशुल्क, गुणस्तरीय र सम्मानजनक सेवा सुनिश्चित गर्ने संवैधानिक दायित्वको पालनामा ठोस प्रभाव पार्ने अपेक्षा गरिएको छ।