
अत्तरिया:सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट हटाएर धनगढी सार्ने तयारीप्रति नेकपा (एमाले) गोदावरी नगर कमिटीले गम्भीर आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नगर कमिटीले २०७७ साल साउन १२ गते प्रदेश सभाबाट दुई-तिहाइ बहुमतले पारित भएको गोदावरी–२ र ४ मा राजधानी तोक्ने निर्णयलाई कुनै हालतमा परिवर्तन गर्न नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “दुई तिहाइ बहुमतबाट पारित निर्णय बदर गरेर अन्यत्र राजधानी सार्ने निर्णय हाम्रो पार्टीलाई कदापि स्वीकार्य हुने छैन।”

नगर कमिटीले प्रदेश सरकारलाई तत्काल उक्त निर्णय कार्यान्वयन गर्न र गोदावरीलाई स्थायी राजधानीको रूपमा विकसित गर्न आग्रह गरेको छ। साथै, स्थानीय जनभावना र स्वाभिमान विपरीत निर्णय आए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।


















