
अत्तरिया: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीबाट सार्ने तयारीप्रति तीव्र आपत्ति जनाउँदै अत्तरियामा आयोजित अन्तरक्रियामा सहभागीहरूले संघर्षका लागि तयार रहेको चेतावनी दिएका छन्।

सोमबार स्वतन्त्र नागरिक अभियानको आयोजनामा अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा क्षेत्र नम्बर ४ का चारै जना सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्था तथा नागरिक समाजका अगुवा सहभागी थिए।

अन्तरक्रियामा सहभागीहरूले २०७७ साल साउन १२ गते प्रदेश सभाबाट दुई–तिहाइ बहुमतले पारित भई गोदावरी–२ र ४ मा स्थायी राजधानी तोकिएको निर्णय संविधानसम्मत र जनभावनाअनुरूप रहेको जनाए। उनीहरूले सो निर्णयलाई तोडमोड गर्ने प्रयास गरिएमा चुप लागेर नबस्ने र आन्दोलनमा उत्रिने उद्घोष गरे।
भेलामा बोल्ने अधिकांश वक्ताहरूले राजधानी गोदावरी भौगोलिक, प्रशासनिक, ऐतिहासिक र समावेशी दृष्टिकोणले उपयुक्त स्थान भएको धारणा राखे। राजधानी सार्ने कदम कुनै पनि हालतमा स्वीकार्य नहुने उनीहरूको भनाइ थियो।


स्वतन्त्र नागरिक अभियानका संयोजकले राजनीतिक दलहरूले जनताको भावना बुझ्नुपर्ने र राजधानी सार्ने षड्यन्त्र तत्काल रोक्नुपर्ने बताए।
कार्यक्रमले प्रदेश सरकारलाई जनभावनाविपरीत निर्णय नगर्न आग्रह गर्दै राजधानी गोदावरीमै रहनुपर्ने अडान दोहोर्याएको छ।




















