
अत्तरिया: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, अत्तरियामा छड्के अनुगमन गरेका छन्।

सोमबार गरिएको अनुगमनको कारण अत्यधिक विद्युत् अवरुद्ध (लोडसेडिङ) सम्बन्धी सार्वजनिक गुनासो भएको जनाइएको छ। मन्त्री खड्काले कार्यालयको गतिविधि र सेवा प्रभावकारिता बुझ्न आफैँ आकस्मिक रूपमा पुगेको जानकारी दिए।
मन्त्री खड्काले विद्युत् ट्रिपिङको समस्या तत्काल सुधार गर्न निर्देशन दिँदै ग्राहकलाई छरितो सेवा सुनिश्चित गर्न निर्देशन दिए।

प्रादेशिक प्रमुख जङ्गबहादुर चन्दसँगको छलफलमा मन्त्रीले समस्याग्रस्त क्षेत्रको पहिचान गरी तुरुन्त एक्सन लिन र ग्राहकलाई समयमै जानकारी उपलब्ध गराउन आग्रह गरे।

प्रमुख चन्दका अनुसार बजेट अभावका कारण धेरै ठाउँमा अझै पनि मसिनो तार प्रयोग भइरहेका छन्। गत वर्ष ३२ करोड रुपैयाँ माग गर्दा पनि ५ करोड मात्र बजेट प्राप्त भएको उनले बताए।
उनले कैलाली र कञ्चनपुरमा सर्किट छुट्याउने काम भइरहेको र महेन्द्रनगर–दोधारा चाँदनी लाइन भारतको बाटो भएर गएको हुँदा मर्मतमा समस्या आइरहेको बताए।
“लाइन भारत हुँदै गएकोले मर्मतका लागि भारतीय पक्षको अनुमति लिनुपर्छ, जुन प्रक्रियाले ढिलाइ गरिरहेको छ,” उनले भने।
यसलाई समाधान गर्न ‘नेपाल टु नेपाल’ लाइन विस्तार आवश्यक रहेको र त्यसका लागि करिब ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिए।


















