
थारु समुदायले आफ्नो मौलिक संस्कृति झल्काउने पर्व ‘गुरही’ आज श्रावण शुक्ल पञ्चमीको दिन उल्लासपूर्वक मनाइरहेका छन्। कैलाली, कञ्चनपुर लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले यस पर्वलाई विशेष महत्त्वका साथ मनाउँदै आएका छन्। नाग पञ्चमीका दिन मनाइने यो पर्व थारु परम्पराअनुसार बालबालिका र युवतीहरूसँग विशेष रूपमा सम्बन्धित मानिन्छ।

गुरही पर्वमा महिलाहरूले रङ्गीचङ्गी कपडाबाट पुतली (गुरही) बनाउने चलन छ भने केटाहरूले बाँस वा जुटको लट्ठी (गुरही पिट्ने कोर्रा) तयार गर्छन्। साँझपख गाउँको चोकमा भेला भएर सामूहिक पूजा गरिन्छ। पूजापछि दिदीबहिनीहरूले ल्याएका गुरहीहरूलाई दाजुभाइहरूले लट्ठीले पिट्ने चलन छ, जसलाई ‘गुरही असरैना’ भनिन्छ।
यसरी गुरही पिट्दा गाउँघरमा रोगव्याधी, महामारी, सर्पबिच्छी, चट्याङ लगायतका संकट टर्ने जनविश्वास छ। गुरही पूजापछि त्यसलाई नदी वा कुलोमा विसर्जन गरिन्छ, र केही कपडाका टुक्रा घरको ढोकामा बाँध्ने प्रचलन पनि छ।


घोडाघोडी नगर भलमन्सा कार्यसमितिले आयोजना गरेको गुरही असरैना कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको छ। समितिका अध्यक्ष बुधराम चौधरीका अनुसार गुरही पूजा गर्दा वातावरणीय सन्तुलन र समुदायमा भाइचाराको सन्देश फैलाउने परम्परा रहँदै आएको छ।
कैलालीका केही स्थानीय तहहरूले पर्वको अवसरमा सार्वजनिक बिदा समेत दिएका छन्। थारु समुदायको मौलिक संस्कृति झल्काउने यो पर्व अब सबै उमेर समूहले मनाउने गरेका छन्।





























