
धनगढी:उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लामो समयदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई नेपाल–भारत दुवैको हित हुने गरी अगाडि बढाउन गृहकार्य भइरहेको बताएका छन्।

मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना अगाडि बढाउने गरी महत्वपूर्ण सहमति जुट्ने अपेक्षा गरिएको जानकारी दिए।
“सम्झौता भएको २० वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा नेपालले झन्डै एक खर्ब रुपैयाँको घाटा व्यहोर्नुपरेको छ,” मन्त्री खड्काले भने, “अब बाँकी विवादित विषय टुंग्याउने गरी गृहकार्य भइरहेको छ।”


उनका अनुसार नेपालको ऊर्जा क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि स्रोत साधनको अभाव, कानुनी अड्चन र आर्थिक समस्याका कारण पञ्चेश्वर मात्र नभई पश्चिम सेतीजस्ता परियोजनाहरू पनि अघि बढ्न सकेका छैनन्।
मन्त्री खड्काले नेपाल र भारतबीच पञ्चेश्वरसम्बन्धी द्विपक्षीय संवादलाई अझ प्रभावकारी बनाउँदै परियोजना कार्यान्वयनको दिशामा ठोस पहल गर्नुपर्नेमा जोड दिए।



















