
अत्तरियाः प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चिसापानीमा आयोजना भएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

मंगलबार बिहान कैलालीको लम्कीस्थित बहुमुखी क्याम्पस नजिकै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेको सरकारी गाडी एकापसमा ठोक्किँदा दुबै सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार अगाडि गइरहेको से.१ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएपछि पछाडिबाट तीव्र गतिमा आइरहेको बा.२ झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो। उक्त रातो गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कालो गाडीको पछाडिपट्टि क्षति पुगेको छ।

दुर्घटनामा मानवीय क्षति नभएको र दुबै मन्त्रीहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई अर्को सवारी साधनमार्फत चिसापानी पु-याइएको छ। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ र अनुसन्धान सुरु गरिएको छ।

















