
गौरीगंगा नगरपालिका–६, बनबेहडा बिजयनगर टोलका २८ वर्षीय टेकबहादुर रोकाया चार दिनदेखि सम्पर्कविहीन बनेका छन्। साउन १० गते शनिबार बिहान बासकल्ला (तामा) खोज्न भन्दै दुई जना साथीसहित घरबाट निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जंगलबाट बेपत्ता भएका हुन्।

साथीहरूका अनुसार दिउँसो करीब २–३ बजेको समयमा पानी खान नजिकैको मुहानतर्फ जाँदा रोकायालाई बाँसको बोट छेउमा बस्न भनिएको थियो। तर, पानी पिएर फर्किँदा उनी त्यहाँ थिएनन्। धेरै खोजी गर्दा पनि भेट नपरेपछि उनीहरू घर फर्किएको बताएका छन्।

लगातार चार दिनसम्म पनि रोकाया सम्पर्कमा नआएपछि परिवारमा गहिरो चिन्ता छाएको छ। इलाका प्रहरी कार्यालय चौमाला, सशस्त्र प्रहरी बल बडिमालिका गण बनबेहडा र स्थानीयबासीको टोलीले संयुक्त रूपमा रोकायाको खोजी कार्य तीव्र पारेको छ।

रोकायाको अवस्थाबारे कुनै अत्तोपत्तो नलाग्दा परिवार र स्थानीयहरू थप चिन्तित भएका छन्।






























