
कञ्चनपुरको बेलडाँडी र लालझाडी गाउँपालिकाका शारीरिक अपाङ्गता भएका बालबालिकाले घरमै बसेर अक्षर चिन्ने अवसर पाएका छन्। जन्मजात हिँड्न र बोल्न नसक्ने बेलडाँडी–२ का १० वर्षीय रितेश उपाध्यायलाई स्थानीय शिक्षिका लक्ष्मी औजीले सात महिनादेखि घरमै पुगेर दैनिक चार घण्टा पढाउँदै आइरहेकी छन्। अहिले रितेश बोल्न र पढ्न सक्ने भएका छन्।

यस्तै, लालझाडी–३ का मयन्क रानालाई पनि सात महिनासम्म घरमै पढाएपछि पूर्णिमा आधारभूत विद्यालयमा भर्ना गरिएको छ। उनी हिँड्न सक्दैनन् तर अहिले अलिअलि हिँड्न थालेका छन्। उनकी आमा श्रीमतुले छोरा कहिल्यै विद्यालय जान सक्ला भन्ने कल्पना नगरेको बताइन्।

लालझाडी–४ का ६ वर्षीय एलेक्स रानालाई पनि शिक्षिका ललिता साहुले घरमै पढाउँदै आएकी छन्। हाल लालझाडीको भानु माविमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षाको व्यवस्था छ।

युरोपेली संघको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघले ‘घरमै विद्यालय’ अवधारणाअन्तर्गत विद्यालय जान नसक्ने ९ बालबालिकालाई सिकाइ पहुँच उपलब्ध गराएको हो। सरकारको समावेशी शिक्षा नीतिअनुसार यो कार्यक्रम सुदूरपश्चिम र कर्णालीका ६ पालिकामा सञ्चालन भइरहेको छ।

















