
अत्तरिया: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले शुक्रबार दुई नवनिर्मित सरकारी कार्यालय भवनको उद्घाटन गरेका छन्। उनले कैलालीको पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय र धनगढीस्थित भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको भवन उद्घाटन गर्दै निरीक्षण समेत गरेका हुन्।

शहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीको योजना अनुसार गत आर्थिक वर्षमा ठेक्का प्रक्रिया मार्फत दुबै भवन निर्माण सम्पन्न गरिएको हो। कार्यालयका प्रमुख डम्बर धितालका अनुसार प्रत्येक भवनको लागत करिब १ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको थियो। पथरैया मोहना सिंचाइ कार्यालयको भवन निर्माण कार्य १ करोड १२ लाख १४ हजार रुपैयाँको लागतमा सम्पन्न गरिएको हो भने भूमिगत जलस्रोत कार्यालयको भवन पनि सोही लागतमा निर्माण सम्पन्न गरिएको छ।
दुबै परियोजना निर्माण व्यवसायीले समयमै सम्पन्न गरी सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरेका थिए।


उद्घाटन कार्यक्रममा मन्त्री पालले पहिलेका भवन जीर्ण अवस्थामा रहेकाले कार्यसम्पादनमा असहजता हुने गरेको बताए। उनले नयाँ भवन निर्माणसँगै दुबै कार्यालयबाट सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। “कार्यालयको भौतिक पूर्वाधार व्यवस्थित नहुँदासम्म सेवा प्रवाह प्रभावकारी बन्न सक्दैन,” मन्त्री पालले भने।
कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद, मन्त्रालयका सचिव प्रेमदत्त भट्टलगायत अन्य अधिकारीहरूको उपस्थिति थियो। मन्त्री पालले निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे।

















