
धनगढी: पश्चिम स्टार यातायात प्रालिको प्रधान कार्यालय धनगढीमा प्रालिमा आबद्ध व्यवसायीहरूबीच विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जनक भाटको अध्यक्षतामा बसेको उक्त कार्यक्रम सचिव महेशराज भट्टले सञ्चालन गरेका थिए।

छलफलको मूल विषय हाल सुदूरपश्चिममा बढ्दो इभी (EV) गाडी प्रयोगसँगै देखिएको समस्याहरू थिए। पछिल्लो समयमा इभी गाडीबाट बढी दुर्घटना हुने गरेको भन्दै कार्यक्रममा यस विषयमा गम्भीर चासो व्यक्त गरिएको थियो। दुर्घटनामा कमी ल्याउने उद्देश्यले चालकहरूलाई लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको आयोजकहरूले जानकारी दिए।


कार्यक्रममा अर्को मुख्य विषय धनगढी बसपार्कसँग जोडिएको थियो। हालसालै नयाँ प्रालीहरूलाई कुनै पनि काउन्टर प्रदान नगरिएको विषयमा व्यवसायीहरूले आक्रोश व्यक्त गरेका थिए। उनीहरूले धनगढी उपमहानगरपालिकामा पत्राचार गर्दा बसपार्कका ठेकदारलाई आवश्यक स्थान उपलब्ध गराउन निर्देशन दिइएको भए पनि हालसम्म त्यसको कुनै सुनुवाई नभएको भन्दै असन्तोष जनाएका छन्।

व्यवसायीहरूले स्थानीय प्रशासन र सरोकारवाला निकायसँग यस विषयमा तत्काल पहल लिन माग गरेका छन्।





























