
सात वर्षअघि प्रदेश सभाको दुई तिहाइ बहुमतले टुङ्ग्याएको सुदूरपश्चिम प्रदेश राजधानीको विषयले फेरि प्रदेश सभामा चर्चा पाएको छ । राजधानी सार्ने चर्चा चलेपछि प्रदेशको यो विषयले पुनः प्रदेश सभा तताउन थालेको हो । २०७५ असोज १२ गते तत्कालीन प्रदेश सभाले दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा प्रदेशको स्थायी राजधानी तय गरेको थियो । वन क्षेत्रमा तोकिएको राजधानी निर्माणका लागि प्रदेश सरकारले जग्गाको स्वामित्व हालसम्म प्राप्त गर्न नसकेपछि राजधानी निर्माणका लागि तोकिएको ठाउँको विकल्प खोज्ने कुरा सतहमा आएको छ ।

प्रदेश सभाबाट बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै गर्दा राजधानी सार्ने विषयले सदन ततायो । प्रतिपक्षी दलहरूले राजधानीको विषयमा विभिन्न टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री शाहले राजधानीबारे आफूले विभिन्न कोणबाट छलफल र बहस चलाएको यथार्थ रहेको बताए । सङ्घीयता र सुदूरपश्चिम प्रदेशको जनताका सरोकारसँग जोडिएको कुरामा सबै गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
“राजधानी निर्माणका सन्दर्भमा हाम्रो आवश्यकता हो कि होइन, त्यो निर्माण गर्नु पर्छ कि पर्दैन रु हाम्रा जटिलता, चुनौती के हुन् रु तिनको समीक्षा र बहस हुनु पर्छ कि पर्दैन रु” शाहले थप्नुभयो, “त्यतापट्टि जिम्मेवार ढङ्गले हामी सबै प्रस्तुत हुने छौँ भन्ने विश्वास मैले लिएको छु ।”


प्रतिपक्षी दलहरूले भने राजधानी सार्ने विषयको विरोध गरेका छन् । नेकपा माओवादी केन्द्र का ओमविक्रम भाट सरल ले सदनमा बोल्दै दुई तिहाइ बहुमतसहित अघिल्लो प्रदेश सभाले तय गरेको राजधानी कार्यान्वयन हुनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय सीमानजिक रहेको धनगढीमा राजधानी कहाँनेर, कसरी सार्ने विषयमा आफ्नो पार्टीको गम्भीर चिन्ता र चासो रहेको बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादी का प्रकाश रावलले राजधानीको स्थान परिवर्तन गर्ने भन्दै भ्रम उत्पन्न गरी प्रदेशलाई अस्थायी संरचना बनाउने चेष्टा भइरहेको बताए । राजधानी धनगढी सार्ने कुराले प्रदेश सरकारले प्रदेशको स्थायित्व नचाहेको स्पष्ट भएको उहाँको भनाइ थियो । रावलले भन्नुभयो, “सरकारले प्रदेशको स्थायित्व चाहिरहेको छैन । स्थायित्व गर्ने विषयमा अवरोध पैदा गरिरहेको छ ।” प्रदेशवासीको भाग्य र भविष्यमा सरकारले भाँजो हाल्न नपाउने भन्दै उनले सरकारलाई सचेत गराए ।
यसै गरी प्रतिपक्षी दल राप्रपाका खेमादेवी विष्टले मुख्यमन्त्रीले आफ्नो कुर्सी जोगाउन राजधानी सार्ने प्रयास र गृहकार्य गरिरहेको आरोप लगाउनुभयो । तोकिएको राजधानी धनगढी सार्न नपाइने उहाँको जिकिर थियो ।


















